पानबारी बासीले सरकार पर्खिएनन ।

धरान जाँदा बाटोमा पर्ने सेहरा खोलाले सुनसरीको पाँचकन्या गाविस―२ पानवारीलाई दुर्गम बनाएको थियो।
त्यो खोलामा बाढी आउँदा तरकारी, दूध, दही लगायत उत्पादन गाउँमै खेर जान्थ्यो भने बजारबाट आवश्यक सामान किनेर ल्याउन पनि गाउँलेलाई समस्या थियो।
तर, गाउँले आफैंले रकम संकलन गरी सेहरा खोलामा बनाएको पक्की पुल २८ वैशाखदेखि संचालनमा आएपछि सुगम बनेको पानवारीवासीको जीवनचर्या सहज भएको छ।
सरकार पर्खिएनन्
गाउँ नजिकको सेउती खोलाको ढुंगा र गिटी बेच्दा पानवारी सामुदायिक वन संरक्षण समितिको खातामा जम्मा भएको रु.२ लाख ७० हजारले गाउँलेलाई पुल बनाउने आँट दिएको सेहरा खोला पुल निर्माण उपभोक्ता समितिका सचिव रमेश बस्नेत बताउँछन्। पुल निर्माणलाई चाहिने रकम जुटाउन उनीहरूले १०―१९ पुस २०६७ मा पुराण लगाएका थिए। पुराणबाट संकलन भएको रु.८२ लाख ५९ हजार ८२८ पनि पुललाई अपुग भएपछि उनीहरूले जमीन अनुसार गाउँलेबाट चन्दा उठाए।
बजारमा घर भएकाले कट्ठाको रु.१३००, भित्री कच्ची सडकमा जोडिएको जमीन भएकासँग कट्ठाको रु.१००० र कुनै बाटोले नभेटेको जमीन भएकाहरूसँग कट्ठाको रु.७०० दरले चन्दा उठाउँदा १४ घरबाट रु.१ करोड ६२ लाख उठ्यो। उपभोक्ता समितिका अध्यक्ष मानबहादुर योञ्जनका अनुसार, त्यत्रो दुःख गरेर पुल निर्माण गर्न संकलन गरेको रकमबाट कमिशन लिने भन्दै धरानका युवाहरू आएर दुःख दिन खोजे। तर, पुल बनाउन एकजूट भएका गाउँलेले उनीहरूलाई कमिशन दिनुको साटो प्रहरीमा उजुरी गरे। प्रहरीले पक्राउ गरेपछि ती युवा पनि आइन्दा कमिशन नमाग्ने सहमति गर्न बाध्य भए।
गाउँलेले पुल बनाएरै छाड्ने देखिएपछि जिल्ला विकास समितिले पनि रु.२५ लाख सहयोग दिंदा एक वर्षमा ५ मीटर चौडा र ३५ मीटर लामो पुल बन्यो। पुल निर्माणमा रु.१ करोड ५९ लाख ६८ हजार ७५० खर्च भएको र रु.२७ लाख ४१ हजार अझै बाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष योञ्जन बताउँछन्।
सेहरा खोलामा पुल बनाएर हौसिएका पानवारीवासी बाँकी रकमलाई कुनै तरीकाले बढाउँदै धरान जाने मोटर बाटोलाई अरू सोझो बनाउन सेउती खोलामा पनि पुल बनाउने योजनामा छन्। सेहरा खोलामा पुल बने पनि सेउती खोलामा पुल नहुँदा धरान जान घुमाउरो बाटो प्रयोग गर्नुपर्छ। सेउती खोलामा पुल बनाउन मानबहादुर योञ्जनकै अध्यक्षतामा २७ सदस्यीय सेउती पुल निर्माण उपभोक्ता समिति पनि गठन भइसकेको छ।

1 प्रतिक्रिया: